Tuesday, August 11, 2020

 


कोरोना भाइरस (कोभिड १९ ) को महामारीले विश्व नै आक्रान्त भइरहेको छ । यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । यस महामारीले नेपाललाई पनि छपक्कै छोइसकेको छ । यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा दुई पटक सम्बोधन गरे ।

जनताले प्रधानमन्त्रीको सम्बोधनको व्यग्र प्रतिक्षा गरिरहेका थिए । प्रधानमन्त्रीको सम्बोधनपछि जनताका आशा निराशामा परिणत भए । प्रधानमन्त्रीको सम्बोधन भ्रष्टाचारीको पृष्ठपोषणमा केन्द्रीत भएपछि सुशासनको जगै हल्लिएको महसुश जनतालाई भएको छ । सम्वोधनका क्रममा कुण्ठा,आवेग र प्रतिशोध ओकलेका प्रधानमन्त्रीले भ्रष्टाचार विरोधी आवाजलाई सरकार ढाल्ने बेमौसमी बाजाको रुपमा चित्रण गरे । यति मात्र होइन उनले जनताका नाममा भन्दा पनि आफ्नैबारे बढी गुनगान गाए । प्रधानमन्त्रीले कोरोना भाइरसको महामारीबाट त्रास बढी रहेका बेला मुलुकको अभिभावकका हैसियतले जनतालाई हौसला प्रदान गर्ने कुनै अभिव्यक्ति दिएनन् । जुन अपेक्षा जनताले सोचे भन्दा विपरित थियो ।


विश्वमै विभिन्न मुलुकले आफ्ना जनतासँग होस्टेमा हैसे मिलाउदै कोरोना महामारी विरुद्ध लडिरहेका छन् । हाम्रा प्रधानमन्त्रीले जनतालाई उत्साह जगाउने विषयमा एक शव्द चुइक्क नबोल्नुले प्रधानमन्त्रीप्रति निराश हुनु स्वाभाविक थियो । मिगौला प्रत्यारोपन गरेर आराम गरिरहेका प्रधानमन्त्रीको पातलो उपस्थितिमा धेरै यस्ता कामहरु भएका थिए । जुन कुरा प्रधानमन्त्रीले समेत थाहा नभएको प्रतिक्रिया दिइसकेका छन् । प्रधानमन्त्रीको अनुस्थितीमा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएको भ्रष्टाचार , सीमामापारी नेपालीको दुर्रदशा, प्रयाप्त मात्रामा स्वास्थ्य उपकरणको उपलब्धता नहुनु वा रोगमाथि देखिएको छुवाछुतलगायतका विषयमा जनताले सास्ती भोगीरहेका छन् ।


आफ्नै देशमा पनि गैरनागरकि हुनुको पीडा भोगी रहेका सिमापारका जनताले अभिभावक खोजीरहेका छन् । मरे पनि आफ्नै देशमा,बाचे पनि आफ्नै देशमा भन्दै आफनो घर फर्किएका हजारौं नेपाली अझै पनि सिमानाका अलपत्र परिरहेका छन् । भारतले गर्छ भनेर छोड्नु कति न्यायोचित कुरा हो ।

संकटको समयमा प्रधानमन्त्रीले धेरै आशा लाग्ने कुराहरु नगरेपनि अभिभावक रहेको महसुस गराउन मात्र सकेका भएपनि नेपाली जनतालाई यस भाइरस विरुद्ध लड्न धेरै नै हौसला मिल्थ्यो । सधैं उखान टुक्का भनेर जनतालाई हसाइरहेका तथा नदेखिने गरि हौसला दिइरहने प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधन जनताले खल्लो महसुस गरे । उनले जनतालाई अभिभावकत्व महसुस गराउन सकेनन् । त्यसैले उनको सम्बोधन आलोचनात्मक बनेको छ ।


हुनत प्रधानमन्त्री आफै पनि बिरामी छन । त्यस अवस्थामा पनि दृढता तथा आत्मविश्वासी भएर जनतासामु फेरि उभिन सकेकोमा उच्च सम्मान छ । आफ्नो स्वास्थ्यको प्रवाह नै नगरि देश हाक्ने साहस गर्नु पनि चुनौतीपूर्ण कार्य नै हो । कतिपयलाई लाग्न सक्छ, प्रधानमन्त्रीको आलोचना गर्न जायज छैन । उनीहरुले यो बुझ्नुपर्छ कि प्रधानमन्त्रीको होइन उनका काम गराईको तौर तरीकाको आलोचना भइरहेको छ । देशमा प्रतिपक्ष कायमै भइरहेका बेला पनि फेरी प्रधानमन्त्रीका पक्षमा वकालत गर्नेहरु दुई पक्ष भएर लागेका छन् । उनको पार्टी भित्रसमेत तिव्र गतिमा आलोचना भइरहेको छ । प्रधानमन्त्रीको काम गर्ने कार्यशैली नियम संगत भएन भन्नेहरु एकथरी छन् भने अर्को थरी प्रधानमन्त्रीको जयजयगार गर्नेहरु छन् ।

नेपाल मात्र होइन विश्वनै कोरोना महामारीको चपेटामा परेको छ । नेपाल जस्तो विकासउन्मुख राष्ट्र कसरी अछुतो रहन सक्थ्यो र रु देश संकटमा छ । जनता त्रासमा छन् । भोकभोकै मर्ने स्थितिको सिर्जना भएको छ । जनताहरु आतिएका छन् डराईरहेका छन् के गर्ने कसो गर्ने कुनै बाटो पहिल्याउन सकिरहेका छैनन् ।

हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा २१ सय २२ जनाको स्वाब परिक्षण गरिएको छ भने २१ सय १३ को नेगेटिभ रिजल्ट आएको थियो । तर पनि ढुक्क भएर बस्ने सक्ने अवस्था छैन । किनभने नेपालको जनसंख्याको आधारमा पनि यो संख्या निक्कै कम हुन आउँछ । अझ भन्नु पर्दा सिमापारबाट आएका नेपालीहरुको संख्या धेरै छ । जसअनुसार सुदुरपश्चिम कोरोना भाइसको अत्यन्त जोखिममा रहेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले अभिभाकत्वको भूमिका निर्वाह गर्नुपथ्यो । जनतालाई हौसला दिनुपथ्यो र एक्यबद्धता जनाउनुपथ्यो । सँगसँगै हिड्न आव्हान गर्नुपथ्यो कि पदैनथ्यो रु

सधैं राष्ट्रभक्तिको गुनगान गाउने प्रधानमन्त्रीको जनताप्रतिको यो व्यवहार कसैलाई चित्त बुझेको छैन । संकटमा नै हो आफन्त चिन्ने भनेझै प्रधानमन्त्रीले पनि आफ्नो रुप रंग देखाएउनु भयो भन्ने प्रश्नहरु सर्वत्र उब्जन थालेका छन् । विभिन्न महामारीका दुख खेप्दै आएका नेपाली जनताले यो दुखलाई पनि सहन गर्न सक्छन् तर पनि प्रधानमन्त्रीले पदीय र नैतिक जिम्मेवारी निर्वाह भने पक्कै पुरा गर्नुपथ्यो । यसअघि पनि सिमापारी नेपालीको बिच्चलीको बेवास्था गदै अमेरीका अष्ट्रलियमा रहेका नेपालीको चिन्ता व्यक्त गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको भावनामा ठेस पुर्याईसकेकी छन् । यसको अर्थ विकसित मुलुकमा रहेका नेपालीको विरोध गरेको भन्ने नलागोस । भन्न खोजेको यो हो कि नेपाली जहा रहेपनि नेपाली नै हुन् राष्ट्रपति वा प्रधानमन्त्रीले सबै नेपालीलाई सम्मानजनक व्यवहार गर्नुपर्छ भन्ने हो ।


महासंकटका बेला विभिन्न मिथ्याहरु आउने गर्छन् । यसअघिका महामारी प्राकृतिक प्रकोपका बेला पनि आएका थिए । केहीँ दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना बिरुद्ध लड्न भन्दै आफ्ना जनतालाई दियो बाल्न आब्हान गरे । हुनत दियो बालेर भाइरस भाग्ने त होइन । तर पनि उनले आफ्नो जनताप्रति देखाएको एक्बद्धता, सदभाव र सहानुभुति थियो । जनतालाई मेरो साथ छ र हामीसँग, सँगै हिड्नुपर्छ भन्ने सांकेतिक सन्देश दिन खोजेको भन्ने बुझे । देशभर विद्युतीय वत्ती बन्द गरेर दियोले भारत झिलिमिली भएको थियो । उनी त्रासमा रहेका आफ्ना जनतामा एक खालको नयाँ उर्जा, हौसाला थपिनुका साथै उच्च मनोबल पैदा गर्न सफल भएको थिए ।


त्यसको असर नेपालसम्म पर्यो । नेपालीले पनि आफ्नो घर घरमा दियो बाले। आफ्नै देशको प्रधानमन्त्रीले बेवास्था गरेपछि जनताले त्यस कार्यलाई मान्नु स्वाभाविक थियो । यसबाट पनि प्रष्ट हुन्छ नेपालको भारतको प्रभाव र हाम्रो देशको प्रधानमन्त्रीको हैसियत कस्तो छ भन्ने रु जनताप्रतिको उत्तरदायीत्व कस्तो छ भन्ने यस कार्यले उजार्गर गर्छ । नेपालीले केवल भावनात्मक साथ खोजेका छन् । मर्छु कि भन्ने भयले बाचिरहेका नेपालीले उच्च मनोबल हुने साथ खोजेका छन् । जुन पाइरहेका छैनन् । नेपालीलाई नेपाली हु भन्ने महसुस गराउनु देशका कार्यकारीको प्रमुख दायीत्व हो । प्रधानमन्त्रीले राष्ट्र पिताको हैसियतले जनतालाई निराश तुत्याउनु हुदैन । अब प्रधानमन्त्रीले जनतालाईको भावनालाई सम्बोधन हुने गरि काम र कारबाही अघि बढाउने छन् भन्ने जनताको आशालाई पुरा गर्न ढिला गर्नु हुदैन ।

No comments:

Post a Comment

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...