तीन छोरी र एक छोराकी आमा हुँ । मेरा सबै छोराछोरी बाहिर बस्छन् । एउटी छोरी, ज्वाईं र नाति अमेरिकामा बस्छन् । एक छोरा र छोरी काठमाडौंमा । अनि अर्की छोरी र नातिनीहरु दाङमै छन् । अहिले ज्वाईं चितवनमा हुनुहुन्छ ।
कोरोना भाइरसको महामारी फैलिएका समाचार आउन थालेपछि मेरो मन साह्रै आत्तियो । जतिजति यस्ता समाचार सुन्थें छोराछोरी सम्झिन्थें । मनमा अनेक कुराहरु खेलिरहन्थे । जसोतसो रात कटाउँथें । भोलिपल्ट बिहान उठेर छोराछोरीलाई फोन गरेर सबै जना सकुशल रहेको खबर सुनेपछि बल्ल मन अलि हलुङ्गो हुन्थ्यो । सबैतिर कोलाहल भएर होला घरमा नभएका छोरा, छोरी र ज्वाईं अनि नातिनातिनाको यादले सताइरहन्छ । धन्न इन्टरनेट छ र कुरा गर्न पाएकी छु । दिनहुँ कुरा त भइरहन्छ तर पनि मन कहाँ मान्थ्यो र ! छोराछोरी आफ्नो नजिक नहुँदा आमाको मन कहिल्यै स्थिर हुँदैन । छोराछोरीलाई आफ्ना वरिपरि नदेख्दासम्म चित्त नबुझ्ने रहेछ ।
लकडाउन भन्ने शब्द मैले ५२ वर्ष भइसक्दा पनि सुनेकी थिइनँ । चैत ११ गतेदेखि सरकारले लकडाउन गर्यो । स्कुलहरु पनि बन्द भए । म शिक्षिका हुँ । त्यही भएर पनि मलाई स्कुल बन्द हुने कुराले असर गर्छ । लकडाउन हुने नहुने अन्योलमा हामी अलिपछि सुनाउने गरी परीक्षाफल तयार गरिरहेका थियौं । लकडाउन भएपछि रिजल्ट सुनाउन सकेनौं ।
बन्दाबन्दीमा टिभीमा समाचार हेर्दै र छोराछोरीहरुसँग इन्टरनेटमा कुरा गर्दै दिन बित्न थाले । समाचार जति हेर्यो मन उति आत्तिन्थ्यो ।
काठमाडौंबाट मान्छेहरु हिंडेरै आफ्नो गाउँघर फर्केको सुन्दा र हेर्दा त म झन् तर्सिन्थें । आफ्ना छोराछोरी पनि डेरामा बस्छन् । उनीहरु भन्न त ठीक छौं भन्छन् । तर के हो कसो हो, अर्काको ठाउँमा भने जस्तो कहाँ हुन्छ र ! यस्तो विपत्को घडीमा पनि काठमाडौं धेरैका लागि आफ्नो हुन सकेन भन्ने समाचार आइरहन्थे । दिमागमा अनेक कुरा खेल्थे । मनमा अनेक तर्कना आइरहन्थे ।
अमेरिकामा भर्खरै जन्मिएको नाति, छोरी र ज्वाईंलाई सम्झन्थें । घरी काठमाडौंमा रहेकी छोरी । यही दाङमै भएकाको त खासै चिन्ता गर्नु पर्दैनथ्यो ।
कहिले मोबाइलको ग्यालरीमा रहेको भिडियो हेरेर चित्त बुझाउँथें । यसो गर्नुबाहेक अरू उपाय थिएन मसँग । न आफू उनीहरु भए ठाउँमा जान सक्ने न उनीहरु आउन सक्ने । सबैभन्दा धेरै चिन्ता अमेरिकामा भएकी छोरीको लाग्थ्यो । ‘सुरक्षित बस, पैसासैसा कमाउनु पर्दैनु’ त भन्थें तर के गर्नु अर्काको ठाउँ ? काम नगरी नहुने । आफ्नै देशले त परेको बेला हेर्दैन भने अर्काको देशको के भर पर्नु !
अमेरिकामा लकडाउन किन नगरेको होला भनेर अमेरिकाको राष्ट्रपतिलाई गाली गर्न समेत भ्याएँ । उता अमेरिकामा मानिसहरु दिनदिनै मरिरहेका थिए यता मेरो मन रोइरहेको थियो । चाहेर पनि केही गर्न नसकेकोमा पहिलो पटक आफूलाई लाचार र निरीह महसुस गरेँ । अरू बेला त आमा भएर गर्नुपर्ने सबै कर्तव्य निभाएँ जस्तो लाग्छ तर कोरोनाको यो कहरले निकै लाचार बनाइदियो । घरीघरी अब कसैलाई पनि विदेश जान दिन्नँ भन्ने नानाथरी सोच आउँथ्यो ।
पति गुमाएको पीडा बिर्सिएर बल्लतल्ल सम्हालिने कोसिस गरिरहेकी थिएँ । कोरोना भाइरसले झन् पीडा थपिदियो । हुन त यो समस्या विश्वभर छ । तर आफूलाई मात्र समस्या परे जस्तो लाग्ने रहेछ । छोराछोरी समस्यामा पर्दा मुटु पोल्ने रहेछ ।
छोरीसँग दिनहुँ कुरा गर्थें । अमेरिकामा समाचारमा आए जस्तो गरी त्रास भने रहेनछ । उनीहरु धेरै सतर्क भएका थिए । छोरीले घरमै बसेर काम गरिरहेको खबर सुन्दा अलिकति भए पनि मन रमाउँथ्यो । तर टिभी र फेसबुकमा आउने समाचार पढ्दा मन आत्तिन्थ्यो । त्यसपछि मैले समाचार हेर्नै छाडें । छोरी ज्वाईंकै कुरामा विश्वास गर्न थालें र उहाँहरुलाई सम्झाउने सिकाउने गरेर मन बुझाउन थालें ।
म घरको काममा व्यस्त रहन थालें । फूलको सौखिन भएकोले फूल रोप्न र गोडमेल गर्न थालें । तरकारी रोप्न थालें । यसरी काम गर्दा मनको डर कम हुँदै गयो ।
काठमाडौंमा रहेकी छोरी केही समयपछि घरमा आइन् । तनाव अलि कम भयो । दुई जना छोरी अनि नातिनातिना आँखा अगाडि भएपछि चिन्ता अलिक कम भयो । गफ गर्ने, हिम्मत दिने मान्छे आफ्ना अगाडि हुँदा त कोरोना आओस् कि जेसुकै आओस्झैं लाग्ने रहेछ । अप्ठेरो परेका बेला सम्हालिएर बस्न गाह्रो त हुन्छ तर सकारात्मक कुरा सोचेर एकअर्कोको सहारा बन्न सक्दा अप्ठेरासँग लड्ने साहस मिल्दो रहेछ । त्यसैले अप्ठेरोमा परेकाहरुलाई साथ दिनुपर्छ ।
आमाबाहेक शिक्षिका पनि भएकीले मैले विद्यार्थीका लागि पनि सोच्नुपर्छ भन्ने लागिरहन्छ तर केही गर्न सक्दिनँ । लकडाउन भएको दुई महिना बितिसक्दा पनि उनीहरुका लागि न मैले केही गर्न सकेँ न स्कुलले ।
सरकारले अनलाइन शिक्षा दिन सकिन्छ भन्यो । त्यसपछि हाम्रो गम्भीर छलफल भयो तर हामीले यसो गर्न सकेनौँ । हाम्रो ठाउँमा मोबाइलको नेटवर्क त राम्रो टिप्दैन अनलाइन क्लास परिकल्पनाको बाहिरको कुरा हो । सबै विद्यार्थी र शिक्षक इन्टरनेटमा नजोडिएकाले अनलाइन कक्षा हाम्रा लागि कागलाई बेल पाक्यो हर्ष न विषमात भन्या जस्तै भयो ।
यो लकडाउनमा मैले इन्टरनेटको महत्व बुझें । इन्टरनेट सुविधा भएको भए आज हजारौं विद्यार्थीको पढाइ बिग्रँदैनथ्यो होला । लकडाउनमा पनि घरभित्रै बसेर कक्षा सञ्चालन गर्न सकिन्थ्यो । धेरै देशमा यसरी पढाइयो भनेर सुनेकी छु ।
यो महामारीले धेरै कुराहरु सिकाएको छ । हरेक कुरालाई बेवास्ता गर्ने हाम्रो आनीबानी फेर्नुपर्ने भएको छ । संकट बाजा बजाएर आउँदैन । त्यसको सामाना गर्न हरदम तयार भएर बस्नुपर्छ भन्ने चेतना यसले दिएको छ । यस्तो दु:ख अब कहिले पनि कसैले भोग्नु नपरोस् । नेपालबाट मात्र होइन विश्वबाटै यो महामारी छिटै हटोस् भनेर आजकल हरेक दिन भगवानसँग प्रार्थना गर्छु ।

No comments:
Post a Comment