Sunday, March 15, 2020

अविवाहित कोमलको प्यारो ‘पोइ’


काठमाडौं । सधैँ फरक–फरक शैलीको गीत गाएर तिजको बजार तताउने कोमल वलीले यसपाली पनि फरक शैलीकै गीत बजारमा ल्याएकी छन् ।

कहिले ‘पोइल जान पाम्’, ‘गोजीमा गाँठ भा’को त कहिले बिहे भा’छैन भन्दै दुःखेसो पोख्ने वलीले यसपाली शिवजीलाई पोइ चाहियो भनेर ‘अन्तिम चेतावनी’ दिएको बताएकी छन्। 

कोटी कोटी हो, शिव कोटी कोटी हो

पोइ चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटी हो ।

उनको गीतको सुरुको अन्तरा यही हो ।

भन्दै उनले शिव भगवानसँग आग्रह गरेकी छन् ।

“शिवले चेलीको मर्म सुनिदिएनन्, दुःखी हुँदै वलीले भनिन्, “त्यसैले लास्टै पटक गाउनु परेको उनले बताइन् । पोइ शब्द राखेर गीत गाउने शृङ्खला अन्तिम पटक गर्ने भनेपछि लोक गायक पशुपति शर्माले गीत तयार गरिएका हुन् । तीज लक्षित गीत केही दिनभित्रै बजारमा आइसक्ने उनको भनाइ छ ।

 गयो दिदी जवानीको रस

राजनीति गर बरु नेता भएर बस

कुरो बुझ्या खोइ दिदी कुरो बुझ्या खोई

नेता बनेर देश चलाऊ, किन चाहियो पोइ

भाइको सुझाव राम्रो लागेको उनले बताइन् । ठट्यौली पारामा कुरा गर्दै, उनले भनिन्, “अर्को पटक पोइ पाइयो भनेर गीत गाउने रहर छ ।”

रेकर्डिङ र छायाङ्कन सकिसकेको गीतले फेरि पनि चर्चा पाउने वलीको आशा छ । 

पुर्ख्यौली घर रोल्पाबाट स–परिवार दाङको टिकरी झरेकी वली अहिले काठमाडौंमै बसोबास गर्छिन् । सानैदेखि गीत संगीतमा पारङ्गत वलीले बजारमा आएको यो गीतबाट दर्शकलाई छुट्टै मनोरञ्जन दिने प्रयासमा रहेको बताउँछिन् ।

यसकारण शिवजी गुहार्छु

उनका अधिकांश गीतहरु शिवजीसँग जोडिएका हुन्छन् ।

किन रु

उनी भन्छिन्, “मलाई शिवजी एकदमै मनपर्छ । कक्षा सातमा पढ्दा आमा ९दिपा वली० ले चिनाइदिनुभयो । उहाँ नै हो, शिवजी नमस्कार गरेस् इच्छ्याएको पुर्याइदिनुहुन्छ ।” त्यही दिनदेखि तीजको व्रत उपासना गर्दै शिवजीको व्रत अनुष्ठानमा लागेको उनको भनाइ छ ।

आमा सधै भन्नुहुन्थ्यो, “शिवजीको व्रत बसेपछि शिवजी जस्तै पति पाइन्छ । त्यसकारण पनि मैले तीजका गीतहरूमा शिवजी जोड्ने गरेको हुँ ।”

० ० ०

गीतरसंगीतसँगको उनको नाता सानैदेखि जोडिएको हो । विद्यालयदेखि नै उनी गीत गाउन तीक्ष्ण थिइन् । त्यसलाई मलजल गरिदिए, उनको पिताले । उनले घरमै बसेर आफ्नै बाबुबाट गीतसंगीतको शिक्षा दिएकी हुन् । ‘हुने विरुवाको चिलो पात’ भनेझैँ उनले विद्यालय पढ्दै गर्दा पुरस्कार पाउन थालिन् । उनको स्वरको चौतर्फी प्रशंसा हुन थाल्यो । भन्छिन् “सबैले घरमा बसालेर भजन गाउन लगानुहुन्थ्यो, त्यसले संगीतको जग बसालिदियो, स्वरमा निखारता ल्याइदियो ।”

उनले विसं। २०४४ सालमा माध्यमिक विद्यालयबाट एसएलसी पास गरेकी हुन् भने महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्र र अर्थशास्त्र विषयमा स्नात्तक गरेकी छन् । उनको ओझेल परेको अर्को पाटो पनि छ, उनी भलिबल खेलाडी पनि हुन् । र त, उनले गीत संगीतमा मात्र होइन भलिबलमासमेत थुप्रै पुरस्कार प्राप्त गरेकी छन् । 

०४९ सालमा उनी काठमाडौं आइन् र ०५० सालबाट रेडियो नेपालमा समाचारवाचिकाको रूपमा काम गर्न थालिन् ।

नाइट बसमा आफ्नै गीत बज्दा 

विसं। २०४४ सालमा प्रजातन्त्र दिवसका अवसरमा देशभरि खुला लोकगीत प्रतियोगिता गरिएको थियो । त्यही प्रतियोगीतामा भाग लिन दाङबाट गोविन्द आचार्यको नेतृत्वमा एउटा समूह आएको थियो । प्रतियोगीतामा कोमल वली र उनकी बहिनी प्रज्ञाले गीत गाएका थिए ।

“मादल बजाउने मान्छेले अलिकति ताल बिगारिदिए” उनले थपिन् “त्यसैले हामी दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो, उक्त प्रतियोगितामा नन्दकृष्ण जोशी दाइ प्रथम हुनुभयो ।” 

प्रतियोगीतामा दोस्रो भएपछि वलीलाई एल्वममा निकाल्ने अफर आयो । १४ सय रुपैयाँमा पहिलो एल्बम ‘राप्तीको झरना’ पनि निकाले उनीहरूले । एल्वम निकालेर दाङ जाँदा नाइट बसमा उनकै गीत बजेको थियो, त्यो थाहा पाएपछि सबै यात्रुले उनलाई हेर्दै मुखामुख गर्न थाले । उनकै गीत गाडिमा बजेको हुनाले त्यो दिन भात खाएको पैसा पनि तिर्नु परेन रे १

जापानको यात्रा

०४९ सालमा उनी दाङबाट वक्तृत्व कलामा प्रथम भएर जापान जाने अवसर पाइन् । कार्यक्रम सकेर आउँदा उनले विदाइ कार्यक्रममा जापानिज भाषामा गीत गाइन् । उत्कृष्ट प्रस्तुतीकरणको उपाधी पाएर उनी नेपाल आइन् ।

जापानीज पोजेक्टमा उनलाई काम गर्ने अवसर आयो तर उनको मन भने रेडियो तिरै थियो । त्यहीँ काम गर्ने भनेर उनी काठमाडौं फर्किइन् । वेला–वेला रेकड गर्न जान्थिन् । त्यही समयमा रेडियोमा समाचारवाचिका मागिएको थियो । त्यसमा उनी उत्कृष्ट भइन् ।

त्यसवेला चर्चित समाचारवाचक थिए पाण्डव सुनुवार

सुनुवारले पनि उनको स्वरको प्रशंसा गर्दै भनेका थिए, “रेडियोले यस्तो स्वर पाउनु निकै सौभाग्यको कुरा हो ।”

काम गर्न थालेको दुई महिनामै समाचार वाचनमा पारङ्गत देखिइन् । त्यति वेलासम्म उनले घरमा पनि भनेकी थिइनन् । रेडियोमा छोरीको आवाज सुन्न थालेपछि उनको प्रशंसा नगर्ने कोही भएनन् ।

उनले पत्रकारिता विषय नपढेकाले त्यससम्बन्धि किताबहरू खोजेर पढ्न थालिन् । समाचार वाचन उत्कृष्टै भए पनि समाचार सम्बन्धि ज्ञान र धारणा बनाउन उनले दुई वर्ष अथक मेहनत गर्नुपर्यो ।

तीज गीतको यात्रा

उनले थुप्रै गीतमा स्वर दिइसकेकी छन् । त्यतिकै मात्रामा एल्वम पनि निकालिसकेकी छन् । तीज गीत भने उनले विसं। २०५४ सालबाट गाउन सुरु गरेकी हुन् । आफ्नी आमाले संकलन गरेको तीज गीत “मेरी आमा हुँदी हुन् त दाइजो दिँदी हुन्”, “लेऊ न भाउजु जोडी परेवा, सिरानीमा राखूँला कामलीले ढाकुला परेवाको घुर्की सुनि बिहानै उठूँला” भन्ने गीत गाएकी थिइन । त्यसपछि दोस्रो बमबहादुर कार्कीसँग मिलेर “हामी पनि सक्छौँ बाबा,” भन्ने गीत गाइन् ।

समाज रुपान्तरित हुँदै थियो । त्यस्ता गीतले बजार पाउन छाडिसकेका थिए । वलीको “श्रृङ्गार” एल्वम पनि चलेन । उनले प्रोमोशन पनि गरिन् तर एल्वमले बजार लिन सकेन । एल्वम नचलेपछि उनी निराश भइन् कसरी राम्रो, हिट हुने गीत गाउने भनेर सोँच्न थालिन् ।

तुलसीपुरमा भेटिएको तन्नेरी

विसं। २०५४ सालमा दशैंको बिदाको बेला वली साथीहरू तुलसीपुर बजारमा घुम्न गएकी थिइन् । विद्यालय पढ्दै गर्दाका ६ जना साथीसँग बजार घुमिरहेकी थिइन् । एक जना तन्नेरीसँग जम्काभेट भयो । दुबैबीच हेराहेर पनि भयो । उनी केटालाई देखेर मोहित भइन् । उनी भन्छिन्, “अग्लो सलक्क परेको, अलि अलि जुंगा पालेको, कालो न कालो तर झलक्क आखाँ जाने खाल्को थियो । एकदमै मन पर्यो ।” पछि उनी साथीसँग मिठाइ पसलमा गइन् । त्यो केटा पछि पछि आइरहेको रहेछ । आफूलाई मन परेको मान्छे पछि–पछि आएपछि उनी मख्ख त परिन्, तर उनले कसको लागि आएको भन्ने मेसो पाउन सकिनन् । उनका साथीहरु पनि उनीसँगै थिए । दिन भर उनले त्यही केटालाई नै सम्झिइरहिन् । साँझ पख घर फर्कने बेला डाँडामा फेरि त्यही युवक देखा परे । त्यसपछि उनी झन् मख्ख परिन् र गीतै पो तयार गरिन्, “तुलसीपुरमा म जाँदा खेरी भेटै भयो गज्जबको तन्नेरी, मलाई हेर्यो मज्जाले, उसले भन्यो ए नानी गाजले म त मरेँ लाजले । 

बिडम्बना भन्नू पर्छ, त्यो केटासँग उनको कहिल्यै भेट भएन तर उनको सम्झनामा ती युवक आइरहे । उनले घटनाबारे दण्डपानी पाण्डेलाई सुनाइन् । उनको कुरा सुनेपछि पाण्डेले मुसुक्क हाँसेर त्यतिवेला नै गीतलाई पूर्णता दिए । पाण्डेकै रचना तथा संगीत रहेको त्यो गीत आम तन्नेरीको पो गीत बन्न पुग्यो ।

र, जन्मियो पोइल शब्द 

०६३ सालबाट उनी केही नयाँ गर्ने सोच बनाइन् । त्यही अनुरूप उनले गीतकार पाण्डेलाई फेरि सम्झिइन् । लगत्तै हिट हुने गीत लेख्न लगाइन् । “तुलसीपुरमा म जाँदा खेरी भेटै भयो गजबको तन्नेरी” बोलको गीतले बजार तताइरहेकै थियो । यस्तै जनजिब्रोमा झुण्डिने शब्दको खोजीमा थिइन् उनी ।

उनले दण्डपानीलाई शिवजीसँग पोइल जान पाम भन्ने गीत लेख्न सुझाव दिइन् । उनको सुझावलाई मानेर पाण्डेले उतिवेलै एक लाइन् गीत तयार गरे । 

तीजैमा ब्रत बसी पूरा गरे भगवान

आशा गर्छु अब त बनोस मेरो काम

सधैभरि माईतीघरमा बस्ने मलाई मन छैन

अहिलेकै पालामा पोइल जान पाम

दुवै जना दङ्ग परे । तर, पोइल शब्द राखेर गीत नबनाउन घर परिवारले सुझाव दिए । त्यस पछि उनले त्यो शब्दको अर्थ खोज्न थालिन् । पोइल शब्दलाई नराम्रो ठान्ने र कानुनका किताबबाट समेत त्यसलाई हटाइसकिएको उनले पाइन् । उनले धेरै पल्ट नेपाली शब्दकोश नै पल्टाएर हेरिन् । वकिललाईसमेत सोधिन् । उनले व्याकरणविद्लाई पनि सोधेकी थिइन् ।

सबैले पोइल शब्द पश्चिम नेपालमा निक्कै चर्चित भएकाले प्रयोग गर्न मिल्ने भन्ने सुझाव दिएपछि ‘पोइल जान पाम’ भन्ने गीत गाएको बताउँछिन् उनी । मनोमानी या राजीखुसीले भागेर गरिने विवाहलाइ पोइल भनिने र केटीहरूको साहस देखाउन आफूले त्यही शब्द राखेको उनको भनाइ छ ।

गीतले ताली र गाली दुवै पायो । त्यो स्वभाविकै पनि थियो । पोइल जान पाम भन्ने गीतबाट मात्रै उनले साढे सात लाख आम्दानी गरिन् ।

शिवजीसँग उनको प्रेम  

दर्शकहरुलाई फरक–फरक शैलीको गीतको स्वाद दिन खप्पिस वोलीले ०६४ सालमा अलि फरक गीत ल्याइन् । कान्छी बुढी नल्याउन महादेव मेरो बुढाले ०६५ सालमा झकासु आयो । यो गीत खासै चलेन ।  शिवजीलाई छुटाएकै कारण गीत नचलेको उनको दाबी छ । शिवजीको नाम नराखी गीत चल्दैन भन्नेमा उनी गइसकेकी थिइन् । त्यसैले ०६६ सालमा उनले शिवजीसँगै जोडेर पुनः गीत निकालिन् ।

“वर्ष दिनको तीज आयो गाउँछु, तीजकै गीत”

फेरि पनि पुकार गर्छु, महादेवसित

बसेकै छु, तीजैमा ब्रत गरेकी छु धर्म

अब त सुन्देऊ शिव यो चेलीको मर्म

महादेवले पुकार नसुनिदिएको भन्दै चाहेको जोडी पाउँ भन्दै उनले गीत गाएको बताइन् । त्यसपछि उनले ०६७ साल राम्रो जोडी नभेट्टाएको गुनासो शिवजीलाई सुनाइन् । 

“मनमा  आँट भाको गोजीमा गाँठ भा’को”

त्यतीको मर्द भेटिएन कोही

यत्रो  वर्ष तीजमा ब्रत बस्दा पनि भेटिएन कोही

भगवान् शिवले चेलीको मर्म नबुझिदिएकाले उनले गीतलाई अलि परिवर्तन गर्ने सोच बनाइन् । त्यही अनुरूप २०६६ सालमा “डिस्कोमा तिज” बोलको गीत ल्याइन् । उनको यो गीत सुपर हिट भएको थियो ।

दर्शकलाई नयाँ नयाँ स्वाद दिन खप्पिस वलीले विसं।२०६८ मा तीज गीतमा फरकपना दिइन् । “पतिदेवका लागि तिजमा गजल” को प्रयोग उनले पहिलो पटक गरिन् । त्यही अनुरूप विसं।२०६९ सालमा कोरियाली र नेपाली गीतको मिक्ससहितको झुमीझुमी बजारमा ल्याइन् । चर्चित ¥यापर गिरिस खतिवडाकै आग्रहमा उनले यो प्रयोग गरेकी थिइन् । उनको यो पनि चलेन । नेपाली महिलाले झ्याउरे तालकै गीत मन पराउने भएकाले यस्ता गीत नचल्ने वलीले बताइन् । यती हो, “तिजमा सबै खाले गीत, संगीत प्रयोग गर्ने उनको रहर पूरा भएको छ,” उनी बताउँछिन् । 

गाली र ताली

वलीले जति पनि गीत गाएकी छिन् ती सबै गीतमा नयाँपन दिन खोजेको बताउँछिन् । गीत गाएर उनले गाली र ताली दुवै बराबरी नै पाइन् तर उनको गायन यात्रा कहिले रोकिएन । बरु उनले समयको मागलाई बुझेर गीतको शैली परिवर्तन गर्न खोजिरहिन् । र त, उनले सफलता र विफलता दुवे चाखिन् । उनको “बदमास शिवजी” भन्ने बोलको गीतलाई नेपाल टेलिभिजनले  प्रतिबन्धनै लगायो ।

शिवजीसँग पोईल जान पाम भनेर आग्रह गरेकै कारणले उनले धेरै गाली पनि खानु पर्यो । वली भन्छिन् “समय गतिशिल छ, समयको माग अनुसार गीत गाएको छु ।” उनी अगाडि भन्छिन्, “अहिलेको समयको माग भनेकै गीतसंगीतमा आधुनिक पन हो” त्यसैले तीज गीतमै रहेर केही परिवर्तन ल्याउन खोजेकी हुँ ।”

जुन जुन गीतले उनले गाली पाएको छ त्यही गीत उनी जहाँ जाँदा पनि दर्शकले गाउन अनुरोध गरेको उनको अनुभवसमेत छ ।

समाज रूपान्तरण भएको अवस्थामा पुरानै शैलीको गीतले बजार नपाउने हुँदा समय कालखण्डअनुसार गीतको शैली फेरिनुपर्ने उनको तर्क छ ।

गीतसंगीतप्रति अत्यन्त रुची राख्ने वोलीको स्वभाव पनि अरुलाई मन्त्रमुग्ध पार्नेछ । एकपटक भेटेको दर्शकलाई उनी हत्पती बिर्सिन्नन् । दर्शकलाई गर्ने सम्मान र मायाले पनि उनी उत्तीकै लोकप्रिय छन् । “तीज पर्व नै हिन्दू नारीको महान् पर्व हो,” वलीले भनिन्,“तीजमा श्रीमान्का लागि व्रत बस्ने पर्व भएकाले यसमा माया प्रेमको प्रशंग तीखो भएर आउँछ ।”

तीज गीत नाँच्न मिल्ने खालको रमाइलो मन हुनुपर्ने भएकाले पनि यस्ता गीत आफूले गाउने गरेको उनको भनाइ छ । “महिलाले भगवान् शिवजीसँग आफ्ना वेदना पोख्छन्,” उनले भनिन्, “त्यसैले पनि तीजमा भगवान् शिवको महत्व रहने भएकाले शिवलाई सम्झिएर गीत गाएको हो ।”

२०७३ असार २८ मंगलबार १७-०६-४७

No comments:

Post a Comment

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...