झट्ट हेर्दा सामान्य देखिने १० वर्षिय मौलिक भण्डारी राम्रोसँग बोल्न सक्दैनन् । उनलाई अटिजम भएको छ । एलिना भण्डारी र महेश भण्डारीको पहिलो सन्तानको रुपमा मौलिक जन्मिएका थिए । पहिलो सन्तान नै वंश धान्ने छोरा जन्मिएपछि परिवारमा खुसीको सीमा थिएन ।तर,मौलिकको असाधारण गतिविधिले भण्डारी परिवारको रंगीन खुशीमा केही निरशा थपियो । मौलिकको जन्मसंगै मातृत्वपाएकी एलिना आफ्नो बच्चाले तोते बोलीमा आमा भनेको सुन्न आतुर थिइन । तर,मौलिकले आमा भन्ने प्रयासनै गरेनन् । यति मात्र होइन उनी बामे नसर्ने, हिड्न नखोज्ने र खान पनि कर लगाउनु पर्ने जस्ता असामान्य व्यवहार देखाउन थाले । आमाबुबा समेत चिन्न सकेनन् उनले । र,जोसुकैले बोलाउँदा पनि पछि लाग्ने गर्न थाले उनी । छोराको यस्तो व्यवहार देखेर उनका आमाबुबा निकै चिन्तित थिए ।
आमा एलिनाको आँखाको नानी हुन् उनी । मायालु स्वभावका हसिला छन् मौलिक । छोरालाई ठूलो मान्छे बनाउने सपना बुनेका थिए उनका बुबा आमाले । आफ्नो कामनै छोडेर एलिना छोरो हुर्काउन तर्फ लागिन । तर छोराको व्यवहार फरक देखेपछि भने उनी अतालिएकि थिइन् । छोराको विकासक्रम नभएको देख्दा यी दम्पतिनै चिन्तित थिए । उपचार पनि गराए । तर डाक्टरले केही रोग नभएको पुष्टि गरेपछि उनिहरु निर्धक्क भएर बसे । तीन वर्षसम्म पनि छोरामा कुनै परिवर्तन नआएपछि उनको फेरी उपचार सुरु गरियो । पछिल्लो उपचारपछि अटिजम भएको पुष्टि भयो ।शिक्षित परिवारमा जन्मिएकाले पनि होला मौलिकले समयमै राम्रो उपचार पाए । अहिले मौलिक सामान्य जीवन बिताई रहेका छन् ।
एलिना आफै नर्स हुन् । त्यसैले पनि उनी सचेत थिइन् र समयमै छोरालाई अटिजम भएको थाहा पाइन् । जसले गर्दा उनलाई यो कुरा विश्वास गर्न गाह्रो भएन । उनीहरुले बेलायतमा छोराको उपचार गराएका थिए । तर,के गर्ने भाग्यको नियति स्वीकार्नै पर्ने । अब एलिनासंग आफ्नो मन दह्रो बनाउने र छोराको रेखदेख गर्ने बाहेक अरु विकल्प थिएन । उनले अटिजमको बारेमा केही बुझेकी त थिइन् । त्यसैले पनि उनलाई बुझ्न गाह्रो भएन ।
अजिटम केयर नेपालको सहयोगले विशेष कक्षा लिएपछि छोराको कुरा बुझ्न र सिकाउन सजिलो भएको एलिना बताउँछिन् । अटिजम भएका बच्चा बच्चीहरुलाई साना–साना कुराको ख्याल गनुपर्ने, सिकाउनुपर्ने, मायालु भावले व्यवहार गनुपर्ने अनुभव एलिनाले सुनाईन । अटिजम भएका बालबालिकाहरुको लागि विशेष कक्षा हुन्छ । जसको सहयोगले मौलिकको जीवन सहज भएको छ । उनले आमा बुबालाई चिन्ने मात्र होइन् आफै खान, मोवाईल चलाउन र पढ्न सक्ने भएका छन् । प्रविधिको बढ्दो विकासले पनि उनलाई कुराकानी गर्न सहज बनाई दिएको छ । सानो–सानो कुरामा खुशीले उफ्रिन्छन् मौलिक । पिङ खेल्न, संगीत सुन्न, वजा बजाउन असाध्यै मन पर्ने मौलिक स्वयं सुनाउछन् ।
अटिजम एउटा विशेष प्रकारको अपाङ्गता हो । नेपालमा अझै अटिजम नौलो रोगको रुपमा परिचित छ । त्यसैले अटिजमका विरामीलाई समाजले सहज रुपमा स्वीकार्न सकेको छैन । हत्तपत्त पत्ता नलाग्ने भएकाले पनि अटिजमको पहिचान हुन गाह्रो हुन्छ । छोरालाई आत्म निर्भर बनाउन लागि परेका यी दम्पतिलाई एउटै कुरा सताउने गर्छ । आफ्नो मृत्यु पश्चात छोराको रेखदेख कसले गर्छ ।
पहिलो सन्तानमा अटिजम भएपछि दोस्रो सन्तानमा पनि अटिजम हुन्छ भन्ने भयमा परेका यो दम्पतिले दोस्रो सन्तान जन्माउने योजना बनाएनन् । छोरालाई आत्मनिर्भर बनाउने प्रयासमा लागि परेको छ यो दम्पति । त्यही छोराको सानो–सानो खुशीमा आफूलाई भुलाउने कोसिस गर्छिन एलिना । अटिजमको विशेष तालिम लिएपछि मौलिकको जीवन फेरिएको त छ नै सँगै एलिना र महेशको खुशी पनि फर्किएको छ ।
No comments:
Post a Comment