
काठमाडौं। आज हिन्दुहरुको महान् पर्व हरितालिका तीज । हिन्दु नारीले तीज पर्वलाई विशेष रुपमा मनाउने गर्दछन् । तीजलाई महिलाहरुको पर्व पनि भन्ने गरिन्छ । तीज छुटै विशेषता बोकेको पर्व हो । तीजमा बिवाहित महिलाहरुले आफ्नो पतिको दीर्घायुको कामना गदै ब्रत बस्छन् भने अबिवाहितहरु भगवान् शिवजस्तो वर अर्थात पति पाऊँ भनेर व्रत बस्ने गर्दछन् ।
पतिप्रति उच्च आदरभाव दर्शाउदै श्रीमानको गोडाको जल खाने प्रचलन पनि हाम्रो समाजमा विद्यमान छ । आधुनिक समाजमा तीजको मौलिकता हराए पनि विश्वास र मान्यता भने कायमै छ । तीज पर्वलाई लिएर धेरै बहस भए र अझै पनि भईरहेका छन् । कतिपयले तीज महिलाहरुको मात्र हो भनेर यसको दायरामा संकुचन ल्याउने प्रयत्न गरेका छन् भने कसैले पुरुषहरुको पनि तीज पर्वमा सहभागी हुनुपर्छ भन्ने तर्क राखेर तीजको महिमालाई माथि उठाएका छन् ।
तीज पर्व महिला माथिको एक संस्कृतिक दमन हो भन्नेहरुको जमात पनि कम छैन । तीज पर्वका विषयमा जतिनै बहस र तर्क भएपनि तीज पर्वलाई मान्न भने छोडेका छैनन् । देश तथा विदेशमा तीज पर्वलाई विशेष महत्वका साथ मनाईएको पाइन्छ । अझ भनौ विदेशीहरु पनि नेपाली नारीबाट प्रभावित भएर तीज पर्व मनाउन थालेका छन् । परम्परागत शैलीमा तीज नमनाईए पनि पछिल्ला दिनहरुमा तीज पर्वलाई झन महत्वका साथ मनाईएको पाइन्छ ।
तीज पर्वको विषयमा अनेक बहस चलिरहेकेका बेला पछिल्लो समयमा युवा पुस्ताको तीज प्रतिको दृष्टिकोण कस्तो छ भन्ने विषयमा स्पष्ट हुन उनीहरुको धारणा बुझ्नु सान्दर्भिक हुने ठानेर केही प्रतिनिधि युवाहरुको मोनोविज्ञानलाई यहाँ चित्रण गरिएको छ । २२ वर्षीय सुश्री थापा हरेक वर्ष तीजको ब्रत बस्ने गर्छिन् । बुझ्ने भएदेखि नै आमा, हजुरआमा, दिदीहरु व्रत बसेको देखेर रहरले आफू पनि ब्रत बस्ने गरेको उनी बताउँछिन । उनलाई तीज पर्व असाध्यै मन पर्छ । किन मनपर्छ भन्ने प्रश्नमा उनले भनिन् ‘राता, हरिया, पहेला अर्थात विभिन्न रंगमा माहिलाहरु सजिएको देख्दा रमाइलो लाग्छ ।’ परिवार, साथासंगी, दिदबिबहिनी र आफनतसंग भेटघाटको रुपमा तीज पर्वलाई मनाउनु पर्ने उनी बताउछिन् । ‘पहिले रहरै रहरमा पानी पनि नखाई व्रत बस्थे’ उनले भनिन् ‘अहिले जुस, चिया खाने गरेकी छु ।’ उनी थप्छिन् ‘स्वास्थ्यको दृष्टिकोणबाट पनि व्रत बस्नु राम्रो मानिन्छ ।’ समाज जतिनै आधुनिक भएपनि उनीमा आधुनिकताले छोएको पाइदैन । संस्कृतिको सम्मान गर्नुपर्छ भन्ने उनको बुझाई छ । अविवाहित भएकाले व्रत बस्दा राम्रो वर पाउँ भनेर भगवान्सँग माग्ने गरेको उनी बताउछिन् । काठमाडौंमा अध्ययनका लागि बस्दै आएकी उनी समय अनुसार तीज परिवर्तन हुनु कुनै नौलो कुरा नभएको बताउछिन् । तर, तीजको यर्थाथतालाई भुल्न नहुने उनको तर्क छ ।
हरितालिका तीजको सन्दर्भमा सविना केसीको विचार भने अलि फरक छ । २५ वर्षिय केसी विवाहित हुन् । उनी तीज पर्वलाई श्रद्धासँग मनाउने गर्छिन् । उनी भन्छिन् ‘तीज पर्व सबैका लागि हो, श्रीमान् र श्रीमतीकको सम्वन्धलाई तीज पर्वले अझ मजवुत बनाउन मद्दत गर्छ ।’ लामो प्रेम सम्वन्धपछि गत वर्ष उनीहरु बैवाहिक बन्धनमा बाधिएका थिए । धेरै सघर्ष पश्चात मात्र आफ्नो प्रेम सफल भएकाले पनि उनले भगवान्प्रति विश्वास रहेको बताईन् । गत वर्ष आफूसँग श्रीमान् पनि व्रत बसेको प्रसंग उनले सुनाइन । केसी भन्छिन् ‘ब्रत नै बसेपछि किन पानी खाने त बरु सकिदैन भने व्रत नै नबसे भयो त । ‘पार्वतीले कठोर ब्रत बसेर महादेवलाई प्राप्त गरेको दृष्टान्त पेश गर्दै तीज पर्वले श्रीमान् श्रीमती बीचको विश्वास र सम्मानलाई बढाउन सहयोग गर्ने बताइन । सम्वन्धमा निखार आउने र माया प्रेम बढ्ने पनि उनको ठम्मयाई छ । यति कठोर व्रत बस्नु हुन्छ गोडाको जल पनि खानुहुन्छ भन्ने प्रश्नमा उनले भनिन् ‘गोडाको जल खानुपर्छ भन्ने छैन र म चाँहि खाँदिन ।’ सायरा ढकाल ‘तीज भनेकै नाच्न गाउन कै लागि हो’ भन्छिन् । उनी तीजलाई वर्ष दिनको दुःख बिसाउने पर्वको रुपमा हेर्छिन । पहिले र अहिलेको तीजको तुलना गदै उनले भनिन् ‘पहिलेजस्तो बुहारीलाई दुःख दिने चलन त छैन तर, दुःख यस अर्थमा कि सबै काममा व्यस्त हुने भएकाले भेटघाट गरौं रमाईलो गरौं भन्ने समय नै हुदैन’, तीजले त्यो माहोल बनाई दिन्छ ।’ उनले तीज पर्वलाई एउटा भेटघाट र रमाईलो गर्ने अवसरको रुपमा हेर्ने गरेको बताइन् । भड्किलो तीजको आफूले विरोध गर्ने बताउदै तीज पर्वलाई एक उत्सव र आदर्श पर्वका रुपमा मनाउनु पर्ने उनको धारणा छ । महिला होस् वा पुरुष, कर्मचारी होस् वा मालिक यस पवले सबैलाई एउटै मञ्चमा जोड्ने पुलको काम गर्ने उनको बुझाई छ । यसका साथै एक अर्काबीचको सम्वन्धमा निखार ल्याउनेमा पनि उनी विश्वस्त देखिन्छिन ।
ब्रतनै बस्नु हुदैन र पूजाआजनै गर्नु हुदैन भन्नेजस्ता बहसले पनि नयाँ पुस्तामा अलमल देखिन्छ । नयाँ पुस्तालाई तीजको बारे सहि अर्थ बुझाउन सके मात्र हाम्रा चाडपर्वले जीवन्तता पउँछन् । तीज पर्वको भिन्न कोणबाट जे–जस्तो बहस भएपनि यसको गरिमा र यस पर्वसंग जोडिएका धार्मिक र अध्यात्मिक पक्षमा आच पुगेको भने पाइदैन । अहिले तीज पर्व के हो र कसरी मनाउने भन्ने दृष्टिकोण आंशिक रुपमा फेरिए पनि मैलिकता भने गुमेको छैन । तीज पर्व आफैमा एउटा मौलिकता बोकेको पर्व हो । तीज पर्वलाई आ–आफ्नो ढंगले व्यख्या विश्लेषण गदै गर्दा तीजको पहिचान नै हराउने भन्ने अवस्थाको सिर्जना हुन दिनु हुदैन । पछिल्लो समयमा बढ्दै गएको तीजको तडकभडकले पनि तीज पर्वको खिल्ली उडाउको देखिन्छ । तीज सामान्य आर्थिक अवस्था भएकाहरुको पहुँच बाहिरको पर्व बन्दै गएको छ । तीजलाई महंगको वस्त्र र गरगहना लागउने पर्वको रुपमा पनि रुपान्तरण गर्ने प्रयत्न भइरहेको छ । हामी जतिनै आधुनिक बन्दै गएपनि समाजिक मुल्य मान्यतालाई कुल्चिएर अघि बढ्ने अवस्था भने आउन दिनु हुदैन । सुसंकृत र सभ्य समाजको प्रतिकका रुपमा चाडपर्वहरुलाई आत्मसाथ गरिनु पर्छ । चाडपर्वसंग जोडेर विकृत पक्ष हाबी हुन दिनु हुदैन । तीज लगायत समाजमा विद्यमान ऐतिहासिक, धार्मिक,सांस्कृतिक पर्वको मौलिकतालाई जगेर्ना गर्ने दायित्व राज्यको समेत बहन गर्नु पर्छ ।
No comments:
Post a Comment