स्वतन्त्र र रमाइलो तरिकाले जीवन जिउन रुचाउने लिम्बूको जीवन उनले
चाहेजसरी नै चलिरहेको छ । तर, उत्कृष्ट क्लासिकल डान्सर हुने सपनाले अहिले
पनि झस्काइरहन्छ । यसबाहेक उनका ठूला–ठूला सपना थिएनन् । घरकी जेठी छोरी भए
पनि उनलाई पारिवारिक जिम्मेवारी थिएन । रेडियो त रहरमात्रै । तर, कर्मले
उनलाई रेडियोकर्मी बनाइदियो । बेलाबेला सोच्छिन्– डान्सर बन्ने सपना पनि एक
न एकदिन कसो पूरा नहोला !
नृत्य शब्द सुन्नेबितिकै उनीभित्र ऊर्जा प्रसार हुन्छ । उनको परिवार अक्सर
विदेशमै बस्ने भएकाले भारत गएर भरत नाट्यम सिक्ने अवसर पाइनन् । उनलाई
सधैं यही कुराले बिझाउँछ ।
पुख्र्यौली घर ताप्लेजुङ भए पनि उनको जन्म हङकङमा भयो । केही वर्षको हङकङ
बसाइपछि उनी आमाबुबासँग नेपाल आइन् र धरानमा बसिन् । लाहुरेकी छोरी भएकाले
उनको बालापन सुखैमा बित्यो । कक्षा ३ मा पढ्दै गर्दा फेरि हङकङ गइन् । उनका
बुबा लाहुरे भएकाले नेपाल र हङकङ आउने–जाने क्रम चलिरह्यो । उनले सन् १९८५
मा हङकङको गोरखा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरिन् ।
उनका बुबाको रिटायर्ड हुने बेला भएको थियो । त्यसैले उनीहरू नेपाल
फर्कनुपर्ने भयो । पढाइमा उनी अब्बल थिइन् । नेपालमा आन्दोलन भइरहेको थियो ।
त्यसैले पढाइमा अवरोध हुन्छ भनेर उनी आईए पढ्न दार्जिलिङ गइन् ।
दार्जिलिङको पनि अवस्था राम्रो नभएपछि स्नातक पढ्न नेपाल आइन् र
राजनीतिशास्त्र तथा समाजशास्त्र पढिन् । त्रिविबाट इतिहासमा स्नातकोत्तर
गरिन् ।
एफएम मोह
सपना एकातिर भए पनि बिस्तारै उनको मोह एफएमतिर बढ्यो । अहिलेजस्तो धेरै
एफएम थिएनन् । भर्खर चल्तीमा आएको एफएम उनी खुब सुन्थिन् । “योभन्दा त मै
राम्रो बोल्छु जस्तो लाग्थ्यो,” उनी सम्झिन्छिन्, “बहिनीहरूले जिस्काउँथे ।
भन्न सजिलो, बोल्न गाह्रो हुन्छ भन्थे । मेरो स्वर पनि राम्रो छैन भन्थे ।
मेरो मन चसक्क हुन्थ्यो ।”
उनलाई पनि हो न हो, मेरो स्वर राम्रो छैन भन्ने लाग्थ्यो । स्वर नराम्रो
भएकै कारण रेडियोमा बोल्न पाउँदिनँ कि भन्ने पीरले सताइरहन्थ्यो ।
त्यतिबेला मोटो स्वरलाई राम्रो मानिँदैनथ्यो ।
धनपाल गुरुङ नेपालका प्रख्यात रेकर्डिस्टका रूपमा परिचित थिए । उनै
धनपालमार्फत् रीताले रेडियो नेपालका रवीन शर्मालाई भेटिन् र आफ्नो स्वर
रेकर्ड गराइन् ।
“तिम्रो स्वर सधैं यस्तै हो कि कहिलेकाहीँ ?” रीताको स्वर सुनेर शर्माले भने ।
उनले भनिन्, “मेरो प्राकृतिक स्वर यही हो ।”
तर, रेडियो नेपालमा स्वर परीक्षा दिएका पाँचमध्ये उनीमात्रै असफल भइन् ।
त्यतिबेला रेडियो नेपालमा स्वर परीक्षा पास नगरी काम गर्न सक्ने अवस्था
थिएन ।
“कान्तिपुर एफएम प्याक छ, हिट्स एफएममा जाऊ,” शर्माले सल्लाह दिए ।
हिट्स एफएममा पनि कुरा मिलेन । उनी पार्टटाइम गर्न चाहन्थिन् । एफएमलाई पूरै समय काम गर्ने मान्छे चाहिएको थियो ।
केही समयपछि हिट्स एफएमबाट बोलाहट आयो । सुरुमा उनलाई ‘संगीत सागर’ नामक
कार्यक्रम चलाउन भनियो । समय थियो– दिउँसो १२ देखि १ बजे । पप गीतको
कार्यक्रम चलाउने सोच बनाएर गएकी रीतालाई अप्ठ्यारो प¥यो ।
“स्क्रिप्ट पनि दिइएन, गीत पनि आफैं खोज्न भनियो । कसरी गर्ने मैले त
सोच्नै सकिनँ । तैपनि हुन्छ भनेर काम सुरु गरें,” रीताले भनिन्, “मसँग
अर्को विकल्प पनि थिएन । पप गीतको कार्यक्रम चलाउन चाहन्थें, गृहिणीका लागि
कार्यक्रम चलाउनुप¥यो ।”
सुरुवाती संघर्ष
रातभर बसेर स्क्रिप्ट तयार गर्थिन् र कार्यक्रम चलाउँथिन् । जीवनसँग
सम्बन्धित टिप्स दिन थालिन् । सुरुमा त स्रोताले उनको स्वर मन पराएनन् ।
एकजनाले त ‘कागतीपानी लिएर जानू अनि मुख कुल्ला गर्दै कार्यक्रम
चलाउनू’सम्म पनि भने । तीन महिनासम्म स्रोताले रीताको खेदो खने । रेडियोमा
आउने प्रतिक्रियामा सबैभन्दा धेरै उनकै हुन्थे ।
उनी हरबखत कसरी राम्रो गर्न सकिन्छ भनेर सोचिरहन्थिन् । बिस्तारै उनी
लोकप्रिय हुन थालिन् । गाली गर्नेहरू पनि उनकै स्वर मन पराउन थाले ।
रीताको दोस्रो कार्यक्रम थियो, ‘यो कहाँ प¥यो ?’ । नचिनेका मान्छेलाई फोन
गर्ने अनि कुरा गर्ने कार्यक्रम थियो त्यो । यो कार्यक्रम चलाउन सुरुमा
निकै गाह्रो भयो उनलाई । आफूले चिनेको मान्छेलाई सिकाएर फोन गर्थिन् ।
कार्यक्रम लोकप्रिय भएपछि त स्रोता आफैंले नम्बर दिएर फोन गर्नू भन्न थाले ।
तेस्रो कार्यक्रम ‘क्वालिटी आइसक्रिम फटाफट’ चलाइन् । यो कार्यक्रममा
आफैंले आफ्नै पारामा गीत गाउनुपर्ने थियो । त्यसैले पनि उनलाई यो कार्यक्रम
एकदमै मन पथ्र्यो । ४ वर्षमा रीताले ५ वटा कार्यक्रम चलाइन् ।
सन् २००० मा रीता हिट्सबाट इमेज एफएमतिर लागिन् । त्यहाँ पनि उनले ५ वटा
कार्यक्रम चलाइन् । त्यतिबेलासम्म उनको स्वरले बजार लिइसकेको थियो । उनको
कार्यक्रम मन पराउने, सुन्नेमात्र होइन, उनीसँग प्रेम र विवाह गर्न चाहनेको
संख्या पनि बढ्दै गयो । उनलाई भेट्न एफएममा लाइनै लाग्न थाल्यो । “मलाई
छुट्टै क्याबिन दिइएको थियो । बच्चादेखि बूढाबूढीसम्म मलाई भेट्न आउँथे,”
उनले भनिन् ।
कार्यक्रम सुनेर उनलाई प्रेम प्रस्ताव राख्ने थुप्रै थिए । ‘धन्यवाद’
भन्दै सबैलाई सम्झाउँथिन् । कोही त केही गरे पनि पिछा छोड्दैनथे ।
डाक्टरसा’पको ‘पागलपन’
रीताका जबर्जस्त फ्यानमध्येका एक थिए– मनोचिकित्सक डा. सरोज शाक्य ।
रीताका कार्यक्रम निरन्तर सुन्थे र उनीसँगै विवाह गर्न चाहन्थे । शाक्य भने
रीताको हजुरबुवाजति उमेरका थिए । रीताले कार्यक्रममा बोलेको खरर सुनाउँथे,
रेडियोमा भेट्न आउँथे । कार्यक्रममा भनेका कुरा सबै उनकै लागि भनेको जस्तो
ठान्थे ।
“तिमी मलाई माया गर्छौ, झुट नबोल,” शाक्यले भन्थे ।
रीतालाई चिठी पनि लेख्थे डा. शाक्य । उनले लेखेका दुई झोला चिठी रीतासँग अझै सुरक्षित छन् ।
“बिरामी भएका बेला पनि मेरै नाम लिएर बर्बराउँथे रे ! म गएपछि सन्चो
हुन्थे । त्यस्तो माया मैले कहीँ पनि देखेकी थिइनँ । तर, वास्तवमा त्यो
माया थिएन, सिकनेस थियो,” रीता भन्छिन् । डा. शाक्यले रीतालाई करिब सात
वर्षसम्म ‘क्रेजी’ बनेर पछ्याए ।
केही वर्षअघि आफ्ना ‘डाइहार्ड फ्यान’को मृत्युको खबर पाइन् रीताले । उनको मृत्युको कारण रीता नै भएको शाक्य परिवारको ठम्याइ छ रे !
त्यो घटनाले रीता केही निराश भइन् । तर, कामलाई निरन्तरता दिनु नै थियो ।
“एक जनाका लागि आफ्नो करिअर बीचमै छोड्नु पनि त भएन,” रीता भन्छिन् ।
एफएममा लगानी
इमेजपछि नेपाल एफएम हुँदै रीता गोरखा एफएममा पुगिन् । यसमा उनको लगानी पनि
छ । गोरखा एफएममा उनी कार्यक्रम डिजाइनिङ, रेकर्डिङ, मिक्सिङ सबै गर्थिन् ।
कार्यक्रमको नाम राख्नेमा पनि उनी नै अगाडि हुन्थिन् । ‘डार्क साइड’ उनले
राखेको नाम हो । आफ्नो वास्तविक समस्या राख्ने र आएका समस्यालाई
विज्ञमार्फत समाधान जुटाइदिने कार्यक्रमको अवधारणा थियो ।
कार्यक्रम प्रसारण हुन थाल्यो । सुरुमा त गाह्रो पनि भयो । मिसकल धेरै
आउँथ्यो । फेक नाम भन्थे । ‘नाम नभनिदिनू है’ भन्दै समस्यामात्रै टिपाउँथे ।
बिस्तारै फोन आउन थाल्यो र स्रोताले समस्या पनि राख्न थाले । पारिवारिक
समस्या, प्रेममा धोका खाएको, पढ्न नसकेको, मानसिक, शारीरिक समस्या आउँथे ।
‘हाई प्रोफाइल’ मान्छेको पनि फोन आउन थाल्यो ।
गोरखा एफएममा केही वर्ष स्टेसन म्यानेजर भएर काम गरेपछि रीताले अन्नपूर्ण एफएम ‘ज्वाइन’ गरिन् ।
उनी आफूलाई कलाकार ठान्छिन् । भन्छिन्, “कलाकारको कुनै पद हँुदैन र
चाहिँदैन पनि ।” उनको एकमात्र उद्देश्य हो– राम्रो कार्यक्रम चलाएर
स्रोताको मनमा बसिरहने । अहिलेसम्म उनी यसमा सफल छिन् ।
कुनै दिन क्लासिकल डान्सर पनि बन्लिन्, सफल होलिन् । बाह्रखरीको शुभकामना !
baahrakhari.com
baahrakhari.com

No comments:
Post a Comment