
बाँकेको निम्नवर्गीय मुस्लिम परिवारमा जन्मिएर अहिले राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त बनेकी मोहना अन्सारीले ‘बाह्रखरी’की पुनम डीसीसँग मनका कुरा खोलिन् । उनको परिचय र संघर्ष उनकै आफ्नै शब्दमा :
पारिवारिक संघर्ष
सम्पत्तिको नाममा एक टुक्रा जमिन थियो । त्यसैमा ओत लाग्ने सानो घर थियो । त्यही घरमा हामी काका–काकी, फुपू, भाइबहिनी अनि आमाबुबासँग बस्थ्यौं । बुबा ज्यालादारी काम गर्नुहुन्थ्यो । त्यो घरमा पनि जमिनदारले आँखा लगाइरहेको रहेछ । हामी बस्दै आएको ऐलानी जग्गा थियो । त्यतिबेला जग्गा भोगचलन गरेको व्यक्तिको नाममा नामसारी गरिएको थियो । प्रायः सबै जग्गा त्यस्तै थिए । तर, जमिनदारले आफ्नो जग्गा भनेर दाबी गर्दै आएको थियो । आफ्नो जग्गा भन्दै उसले जिल्ला अदालत हुँदै सर्वोच्चमा पनि मुद्दा हाल्यो । बुबाले पनि हिम्मत नहारी २० वर्षसम्म निरन्तर लडिरहनुभयो । अन्त्यमा जमिनदारकै जित भयो । अनि रित्तो हात घर फर्किनुपर्यो ।