Sunday, December 3, 2017

पासाङ ल्हामुसँगै सगरमाथा चढ्दै थिइन् लाक्पा फुटी शेर्पा


हिमालको काखमा लडीबुडी गर्ने रहर कसलाई हुँदैन र ! विश्वकै शीर सगरमाथा चढ्न पाए त झन् !
यस्ता थोरै भाग्यमानी छन्, जसले सगरमाथा चढेर कीर्ति राखेका छन् । पासाङ ल्हामु शेर्पाले पहिलो नेपाली सगरमाथा आरोहीको रूपमा विश्व कीर्तिमान कायम गरेकी छन् ।

 तर दुर्भाग्य ! सगरमाथाबाट फर्किने क्रममा अक्सिजन सकिएर उनको मृत्यु भयो । पासाङ ल्हामुसँगै सगरमाथा चढ्दै थिइन् लाक्पा फुटी शेर्पा पनि । तर, उनी ‘क्याम्प टु’ भन्दा माथि जान सकिनन् । लाक्पा पासाङलाई पर्खिंदै ‘क्याम्प टु’मै बसिन् । तर, प्रकृतिको खेल ! उनले पासाङको मृत शरीर देख्नुपर्‍यो ।  सँगै गएकी साथीले ज्यान गुमाएपछि लाक्पाले कहिल्यै सगरमाथा चढिनन् । पासाङसँग बिताएका पल उनको आँखावरिपरि सधैं घुमिरहन्छन् । उनको परिवारलाई सधैं एउटै डरले सताइरह्यो– पासाङलाई झैं गुमाउपर्छ कि भन्ने । हुन त उनको सपना हिमाल चढेरै छाड्ने थियो। तर, सपना पूरा नभए पनि कुनै पछुतो छैन । पासाङले नै आफ्नो सपना पूरा गरिदिएजस्तो हुन्छ उनलाई लाक्पाले पासाङले भन्दा पहिलेदेखि नै हिमाल चढ्न सुरु गरेकी हुन् । पहिले नै ६–७ हजार मिटरसम्म पुगेकी थिइन् । हिउँमा खेल्दै हुर्किएकीले होला, उनलाई हिमाल चढ्दा अपनाउनुपर्ने तौरतरिका राम्रैसँग थाहा थियो ।

पासाङसँग जाँदा पनि उनी ८ हजार मिटरसम्म पुगेकी थिइन् । तर, एउटा नमीठो याद बोकेर दुःखी हुँदै फर्किनुपर्‍यो ।  पासाङ उनका लागि अभिभावक थिइन् । “सगरमाथा जानुभन्दा केही दिनअघि मौसम अलि खराब छ, तिमीहरु नआउनू, उतै बस्नू भनेकी थिइन् पासाङले,” उनले सम्झिइन्, “उनी गइन् र अस्ताइन् ।”

पर्वतारोहण यात्रा 

सन् १९९३ सालको कुरा हो, जतिबेला इन्डो–नेपाली एक्सपिडिसनको कुरा एकदमै चर्चामा थियो । नेपाल र भारतका महिलाहरू एकसाथ पर्वतारोहण गर्ने योजना सरकारले बनाइरहेको थियो । त्यतिबेला पुरुषमात्रै हिमाल चढ्थे । त्यसैले महिलाले आरोहण गर्ने भनेपछि अनौठो मान्थे ।

सरकारको योजनाबारे पासाङले सुनाइन् लाक्पालाई । त्यतिबेला उनी स्वीट्जरल्यान्डमा बस्थिन् । उनीहरुले फोनबाटै योजना बनाउँथे । छोरा ५ वर्षको मात्रै हुँदा लाक्पाले चाँडो निर्णय दिन सकिनन् ।

“पासाङका झन् दुई छोरी र एक छोरा थिए,” लाक्पाले सम्झिइन्, “जाने भएपछि प्रपोजल बनाऊँ, ढिलो नगरौं भनेकी थिइन् टेलिफोनमा ।”

सकेसम्म सँगै जाने निर्णय भयो ।

सगरमाथा चढ्ने चाँजोपाँजो मिलाउन लाक्पा नेपाल आइन् । उनको निर्णयप्रति परिवार असहमत थियो । दुई भाइले भने उनलाई साथ दिए । आफन्तले पनि ज्यान जोखिममा पारी नजाऊ भने ।

बल्ल पाएको अवसर गुमाउनु हुँदैन भन्ने लाक्पालाई लागेको थियो । कसैको कुरा वास्तै नगरी सगरमाथा चढ्ने तयारीमा जुटे उनीहरू । 

इन्डो–नेप्लिज वुमन एक्सपिडिसनका लागि नेपालको तयारी दु्रत गतिमा भइरहेको थियो । नेपालबाट पासाङ ल्हामु शेर्पा, ङिमी, उपासना मल्ल र लाक्पा फुटी गरी ४ जना थिए भने भारतबाट १६ महिला आउने भएका थिए । 

तयारी पूरा गरेर उनी पुनः स्वीट्जरल्यान्ड गइन् । उनी छोरा छोडेर नेपाल आएकी थिइन् । 

त्यही क्रममा हिमाल चढ्नका लागि भारतले तालिम आयोजना गर्‍यो । उनलाई पनि बोलाइयो । युरोपमा भएकाले जान सक्ने अवस्था थिएन उनको । तालिम नलिए आरोहण गर्न नपाइने भन्ने खबर पासाङले उनलाई सुनाइन् । यो कुरा सुनेर लाक्पा निकै चिन्तित भइन् । जाने कि नजाने दोधार भयो । 

आखिरमा उनीहरु दुवै तालिम लिन गएनन् र नयाँ टिम बनाएर हिमाल चढ्ने योजना बनाए । ‘हामी अलग्गै जानुपर्छ’ भनिन् पासाङले । पासाङको आँट देखेर लाक्पालाई पनि आँट आयो ।

लाक्पाले युरोपमै आइस क्लाइम्बिङको तालिम लिइरहेकी थिइन् । नेपाल फर्केपछि दुवैले तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीलाई भेटे । उनका अन्य साथी भारतीय टिमसँगै गएका थिए ।

पासाङ, लाक्पा र नन्दा राईको नयाँ टिम बन्यो । उनीहरुलाई आरोहण अनुमति नपाइने होइन कि भन्ने चिन्ता लागिरहेको थियो । मन्त्रीले भारतीय टिमसँग जान भनेका थिए । 

नेपाली नारीको अलग्गै टिम भएकाले निकै चर्चा भएको थियो । पत्रिकाले ठूलठूला फोटासहित पहिलो पृष्ठमा समाचार छापेका थिए । उनीहरुलाई बधाई तथा शुभकामनाको ओइरो लागेको थियो आरोहण सुरु गर्नुअघिदेखि नै । 

मन्त्रीले ‘जाने भए भारतीय टिमसँग जाऊ, होइन भने पैसा तिर्नुपर्छ’ भनेका थिए । सरकारले सहयोग नगरेपछि ठूलै पैसा लगानी गर्नुपथ्र्यो ।

त्यतिबेला उनीहरुलाई सानमिगेल बियरका प्रमुख पियुषबहादुर अमात्यले सहयोग गरे । सबै चाँजोपाँजो मिले पनि पर्यटन मन्त्रालयबाट अनुमति लिन मुस्किल भइरहेको थियो ।

सगरमाथा जाने ‘कन्फर्म’ भएपछि उनीहरु सपिङमा व्यस्त भए । सरगमाथा चढ्न बाटो बनाउने शेर्पा (हाई अल्टिच्युट वर्कर), भारी बोक्ने कुल्ली, भान्से, गाइडलगायत पाँच जना सहयोगी आवश्यक पर्छन् । उनीहरुले गाइडको रूपमा सोनाम छिरिङ शेर्पालाई छाने ।

लुक्लाबाट उनीहरूले यात्रा सुरु गरे । तीन नेपाली महिला सगरमाथा चढ्न कम्मर कसेर लागिपरेका थिए । उनीहरूसँग पासाङका श्रीमान् ल्हाक्पा सोनाम शेर्पा पनि थिए । सगरमाथा चढ्ने चानचुने कुरा थिएन । सबै जिउँदै फर्केर आउने ग्यारेन्टी पनि थिएन ।

उनीहरुको यात्रा कठिन थियो । उत्साह, उमंगका साथै शंका, उपशंका पनि उत्तिकै थिए । उत्साहका साथ उनीहरूले ०४९ फागुन २५ गते सगरमाथाको यात्रा सुरु गरे । पहिलो रात फाक्दिङपारि बिताए । दोस्रो बास नाम्चेमा बसे ।

सगरमाथा चढ्नुअघि केही सञ्चारमाध्यमले ‘तपाईंहरु सानमिगेल बियरको पछि लागेको कि सानमिगेल बियर तपाईंहरुको पछि लागेको ?’ भनेर प्रश्न गरे । उनीहरूले जवाफ दिए, “हामी कसैको पछि लागेको होइन, हाम्रो पछि देश लागेको हो ।”

चौथो दिन पाङबोचेमा पासाङले लामासँग हात हेराइन् । ‘ठूलै खड्गो रहेछ, समस्या हुन्छ, अप्ठ्यारो समय छ’ भनेका थिए लामाले । लामाको कुराले पासाङ खिन्न भएकी थिइन् । लामाले भनेअनुसार नै अपशकुन भइरहेको थियो ।

उनीहरू ६ हजार मिटरको चोलापास पुगे । त्यहाँ थुप्रै टेन्ट टाँगिएका थिए । त्यहाँ पनि उनीहरुकै टेन्टले चर्चा कमायो । 

‘नेपाली महिला सानमिगेल सगरमाथा आरोहण अभियान १९९३’ उनीहरूको टेन्टअगाडि टाँगिएको ब्यानरमा लेखिएको थियो । 

त्यसपछि उनीहरू ‘क्याम्प टु’ पुगे । त्यहाँ पनि आरोहीहरू टेन्ट टाँगेर बस्ने गर्छन् । जसोतसो उनीहरूको टोली ‘क्याम्प थ्री’मा पुग्यो । मौसम अनुकूल नभएपछि केही अभ्यास गरेर उनीहरू पुनः ‘क्याम्प टु’मै फर्किए । 

अलि सञ्चो नभएकाले लाक्पा र पासाङका श्रीमान् तथा अन्य सहयोगी क्याम्प टुमै बसे भने पासाङ सोनामसहित क्याम्प थ्रीमा उक्लिइन् ।

लाक्पा ‘क्याम्प थ्री’मा पुग्न नपाउँदै पासाङ र सोनाम सगरमाथा चढ्ने सुरसार कसेर हिँडेछन् । ‘क्याम्प थ्री’मा लाक्पा एक्लै भइन् । पासाङ फर्केपछि जाने भनेर उनी त्यो दिन त्यहीँ बसिन् । मौसम खराब भएपछि पुनः ‘क्याम्प टु’मै फर्किन् । पासाङका श्रीमान् ‘क्याम्प टु’मा उनीहरुलाई पर्खिरहेका थिए ।

निकै समय हुँदा पनि पासाङ र सोनामको खबर नपाएपछि उनीहरूको मनमा चिसो पस्यो । उनीहरु आत्तिए तर केही गर्न सकिने थिएन । एक सहयोगी हस्याङफस्याङ गर्दै आए र अप्रिय खबर सुनाए, “अक्सिजन सकिएकाले पासाङ र सोनाम आउन सक्नुभएन, म अक्सिजन लिन आएको ।”

उसको कुराले झन् अत्यायो तल बस्नेहरूलाई ।

अघिल्लो दिन चार शेर्पा फर्किएका रहेछन् । ‘क्याम्प फोर’बाट अक्सिजन पुर्‍याउन नसकिएको खबर पाए उनीहरुले । थोरै भएको आशा पनि निराशामा बदलिएको थियो ।

“पासाङ र सोनाम फर्किएनन्,” त्यो क्षणको बयान गर्दा लाक्पाका आँखा भरिए ।

पासाङ सगरमाथा चढ्ने पहिलो नेपाली महिला बन्न सफल भएकी थिइन् । त्यो खुसीको कुरा थियो । तर, त्यो खुसीको उनको मृत्युका अगाडि केही अर्थ थिएन ।

आफूसँगै गएको साथी गुमाउनुपर्दा लाक्पाको मन टुक्रा–टुक्रा भयो । उनलाई लाग्यो– सबै बर्बाद भयो । गह्रुँगो मन र उदास अनुहार लिएर लाक्पा फर्किन् । पासाङको शव १८ दिनपछि हेलिकप्टरमा हालेर ल्याइयो । 

घर सोलुखुम्बु पुगेपछि लाक्पाले थाहा पाइन्, उनी सगरमाथा चढेको खुसीयालीमा घरमा त पार्टी भएछ । चाखलाग्दो कुरा त पासाङ र लाक्पा को पहिले चढ्यो भन्नेसम्म चर्चा चलेछ ।

उता, काठमाडौंमा महिला आरोहीहरूको मृत्यु भएको कुरा आगोसरि फैलिएछ । कतिपय सञ्चारमाध्यममा त दुवै जना मरेको समाचार पनि आएको रहेछ । कतिपयले पासाङ र सोनामबीच पे्रम सम्बन्ध भएकाले सँगै मर्न गएका समेत भनेका रहेछन् । बाहिर चलेका हल्ला सुनेर उनी आजित भइसकेकी थिइन् । उनी जवाफ दिन सक्ने अवस्थामा थिइनन् । कतिपयको जवाफ दिन त जरुरी पनि ठानिनन् । 

सपना अपूरै

सगरमाथाको चुचुरोमा पुग्न नसके पनि जिउँदै फर्किएकोमा उनको परिवार खुसी थियो । तर, सँगै गएकी पासाङ नफर्किएकोमा उत्तिकै दुःखी पनि । लाक्पालाई भने दुइटा दुःख थिए, आरोहणको असफलता र साथी गुमाउनुको पीडा । 

एक पटकको असफलतापछि उनको परिवारले सगरमाथा आरोहणका लागि अनुमति दिएन । तर, उनको रहर अझै मरेको छैन । भन्छिन्, “बिहेअघि नै सबै काम गर्नुपर्ने रहेछ । विवाहपछि छोराछोरी, घरपरिवारको मायाले जोखिमयुक्त काम गर्न कठिन रहेछ । मलाई गुमाउनुपर्छ भनेर हिमाल चढ्न दिँदैनन् छोराछोरी र घरपरिवार ।”

दिदी–बहिनीको सम्बन्ध 

लाक्पा र पासाङको अनुहार उस्तै–उस्तै भएकाले कतिपय दिदीबहिनी भनेर झुक्किने रहेछन् । लाक्पा पासाङभन्दा ७ वर्ष कान्छी थिइन्, त्यसैले उनी दिदी भन्थिन् । तर, घरकी जेठी छोरी थिइन् लाक्पा ।

सोलुखुम्बुको मुसे गाउँमा उनको जन्म भएको थियो । हिउँसँग खेल्दै घाँसदाउरा गर्दै उनको बाल्यकाल बितेको थियो । पासाङ र लाक्पा छिमेकी थिए । चाडपर्व, मेलापातमा उनीहरूको भेट हुन्थ्यो । दुवैको सपना पनि एउटै थियो, त्यसैले पनि छोटो समयमै उनीहरुको मन मिलेको थियो ।

लाक्पाले १३ वर्षको उमेरदेखि नै पर्वतारोहण गर्न थालेकी थिइन् । उनका बुबा ट्रेकिङ गाइड थिए । बुबाबाट उनी पनि प्रेरित भएकी थिइन् । सानैदेखि बुबासँग जान्थिन् । पछि भरिया भएर जान थालिन् । भरिया भएरै उनी ६ हजार मिटर उचाइसम्म धेरै पटक पुगेकी छन् । 

पहिलो नेपाली स्की खेलाडी 

लाक्पा फुटी राम्रो स्की खेलाडी पनि हुन् । स्वीट्जरल्यान्डमा हँुदा उनले खेल्न जानेकी थिइन् ।

फ्रान्स र इटालीको बीचमा पर्ने ‘माउन्ट बल्क’मा स्की खेल्ने कार्यक्रम थियो, जुन पश्चिम युरोपको अग्लो हिमाल हो । स्की खेलेर फर्कंदै गर्दामात्र आफू स्की खेल्ने पहिलो नेपाली महिला भएको थाहा पाएकी थिइन् । विभिन्न सञ्चारमाध्यमबाट समाचार सुनेपछि उनी खुसीले गद्गद् भइन् । नेपालमा पनि स्कीको सम्भावना भएकाले त्यसको अध्ययन गरेर स्की खेल सुरु गर्ने उनको योजना छ । 

विदेशीले फोटो खिच्थे 

गाउँमा विदेशी धेरै आउँथे । गोरा, सफा अनुहार र सल्लक परेको जिउडाल देख्दा लाक्पा उनीहरूलाई मख्ख परेर हेरिरहन्थिन् र मनमनै राम्रा मान्छेको देश झन् राम्रो होला भनेर विदेश जाने कल्पना गर्थिन् ।

“कुइरेले हाम्रो फोटो खिच्थे । राम्रो होइन, खोजी–खोजी नराम्रो, दुःख पाएको मात्रै खिच्न चाहन्थे,” उनले सुनाइन्, “कति पटक त मेरो पनि खिचेका छन्, तर ती फोटो कहाँ छन् मैले कहिल्यै देख्न पाइनँ ।”

त्यो उनीहरूको कमाइ खाने भाँडो रहेछ भन्ने उनले पछिमात्रै बुझिन् । 

भागेर काठमाडौं

उनका बुबाआमाले विवाह गरिदिने तयारी गरिरहेका थिए । तर, उनलाई विवाह गर्न मन थिएन । त्यतिबेला उनी १५ वर्षकी थिइन् । हिमाल चढ्ने रहरले गर्दा उनले विवाह गर्न चाहेकी थिइनन् । जसरी हुन्छ काठमाडौं जाने उनको सपना थियो । विवाहबाट बच्न पनि काठमाडौं जानैपर्ने थियो । त्यसैले काठमाडौं भाग्ने योजना बनाइन् । तल्लो खेन्जा गाउँका आङ किम्जुङ र आङ दोर्जी काठमाडौं जाँदैछन् भन्ने उनले सुनेकी रहिछन् ।

लुक्लासम्म जहाज आउने भए पनि उनीसँग जहाज चढ्ने पैसा थिएन । त्यसैले आठ÷नौ दिन लगाएर भए पनि पैदल जाने निर्णय गरिन् । भोलिपल्ट घरबाट झोलामा कपडा अनि भुटेको मकै बोकेर भागिन् । ‘पुलिस देखेपछि चोर आफैं तर्सिन्छ’ भनेझैं उनी पनि डराई–डराई, दाँयाबाँया हेर्दै हिँडिरहेकी थिइन् । सुर्के गाउँ पुगेपछि आङदोर्जी र उनकी पत्नीलाई भेटिन् । त्यसपछि केही आँट बढ्यो । उनीहरुलाई खुसी पार्न उनले झोला बोकिदिइन् ।

जसोतसो उनीहरू दसौं दिनमा काठमाडौं पुगे । आङदोर्जीले लाक्पालाई सानिमाको कोठासम्म पु¥याइदिए । उनलाई देखेर सानिमा छक्क परिन् र घरमा पनि खबर गरिदिइन् । 

गाउँमा लाक्पा आङदोर्जीसँग भागेको हल्ला चलेको थियो । गाउँको हल्ला उनले पनि थाहा पाइन् । सानिमाले पनि शंका गरेकी रहिछन् । ‘होइन, नाता पर्छ’ सानिमालाई विश्वास दिलाइन् । तर, गाउँलेको मुख थुन्न सक्ने अवस्था थिएन । तीन–चार महिना बसेर गाउँ फर्किंदा पनि त्यो हल्ला शानत भइसकेको थिएन ।

लाक्पा शेर्पा जातिकी पहिलो लेखिका पनि हुन् । उनी अहिले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक भएर काम गरिरहेकी छन् । यो प्रतिष्ठानले पर्वतारोहीहरूलाई तालिम दिने र अन्य सहयोग गर्ने काम गर्छ ।


No comments:

Post a Comment

काठमाडाैं । विश्वमा कोभिड १९ कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै छ । लाखौं मानिस संक्रमित भएका छन् भने ३० हजार भन्दा बढीको निधन भइसकेक...